Tuesday, March 27, 2012

तनहुँ सम्पर्क समाजद्वारा क्षेत्रीय शिक्षा निर्देशकलाई स्वागत


  तनहुँ सम्पर्क समाज पोखराले आफ्नो वार्षिकोत्सवको अवसर पारेर तनहुँ जिल्ला स्थायी घर भएका गोपालकृष्ण पौडेल पश्चिमाञ्चल क्षेत्रीय शिक्षा निर्देशक भई आउनुभएकोमा स्वागत एवं सम्मान गरेको छ । उक्त अवसरमा चियापान एवं शुभकामना आदानप्रदान कार्यक्रम समेत आयोजना गरिएको थियो ।
       स्वागत एवं सम्मान ग्रहण गर्दै निर्देशक गोपालकृष्ण पौडेलले स्थापना कालदेखि नै सामाजिक क्षेत्रमा उदाहरणीय कार्य गरेकोमा समाजको प्रशंसा गर्दै आफू पनि तनहुँबासी भएको गौरवान्वित भएको बताउनुभयो ।
       उहाँले तनहुँ सम्पर्क समाजको भावी योजनाहरुमा आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने बताउँदै संस्थाको उज्वल भविष्यको लागि शुभकामना व्यक्त गर्नुभयो ।
       कार्यक्रममा अन्तर समाज महासंघ राष्ट्रिय समिति अध्यक्ष निलकण्ठ शर्मा, तनहुँ सम्पर्क समाजका सल्लाहकारहरु डा.कर्णविर पौड्याल, बृन्दा राना, पूर्व अध्यक्ष मुरलीमोहन काफ्ले, भीम गुरुङ्ग, बरिष्ठ उपाध्यक्ष गणेश थापा लगायतले  शुभकामना दिनुभएको थियो । समाजका अध्यक्ष इश्वर सुवेदीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन महासचिव अम्बिका भट्टराईले गर्नुभएको थियो ।
       तनहुँमा स्थायी घर भई पोखरामा विभिन्न पेशा व्यवसाय गरी बस्ने तनहुँले बीच एकता, भइचारा एवं सहयोग गर्ने उद्देश्यले २०५९ चैत १३ गते विधिवत रुपमा उक्त संस्थाको स्थापना गरिएको हो ।
 

Monday, March 26, 2012

फेवाताल छेउ विदेशी नागरिकको मृत्यु


पोखरा फेवातालको पश्चिम छेउको पुम्दीभुम्दी गा.वि.स. वडा नं. १ स्थित चिसापानी  स्थानबाट १ जना विदेशी स्वीडेन नागरिक पासपोर्ट नं. ८४०५८१३२, वर्ष ५७ को  KJELL  GUNNAR  ROGER  ALENHOLT फेवातालमा डुवी वेपत्ता भएको भन्ने सूचना प्राप्त हुनासाथ यस कार्यालय तथा वडा प्रहरी कार्यालय बैदाम, पर्यटक प्रहरी समेतको सहयोगमा पश्चिम क्षेत्रीय सशस्त्र प्रहरी गण पार्दीबाट नेपाल प्रहरीको रेस्कीयू टोली द्धारा फेवातालमा पौडी खेली वेपत्ता भएका विदेशी नागरिक १६:१० बजेको समयमा मृत अवस्थामा तालबाट निकाल्न सफल भएको । फेवाताल छेउमा मृतकको नगद रु. १५२०।–, भिडियो क्यामेरा थान १, घडी, मोवाईल, सुर्य चुरोट ३ वट्टा, चस्मा, टिसर्ट १, पाईन्ट १, गमछा १ समेत साईडमा फेला परेको । मृतक लासको प्रारम्भिक अनुसन्धान पश्चात पोष्टमार्टमको लागि प.क्षे. अस्पतालको मुद्र्धा घरमा राखिएको । अन्य अनुसन्धान कार्य भईरहेको ।

जिल्ला प्रहरी कार्यालय, कास्की

Friday, March 2, 2012

Peace Zone Academy पिसजोन एकेडेमीको अभिभावक दिवस सम्पन्न


       पोखरा–८ सिमलचौर स्थित पिसजोन एकेडेमीको वार्षिक उत्सव तथा अभिभावक दिवस शुक्रबार सोंपाल तमु समाज बगालेटोलमा सम्पन्न भयो ।
       विद्यालयका संस्थापक तथा प्रमुख व्यवस्थापक योगेन्द्र शर्मा दाहालको सभापतित्व तथा जनप्रिय उच्च मा.वि.व्यस्थापन समिति अध्यक्ष बलराम बराल, विश्वनाथ बराल, गोविन्द भारती तथा रन्जिता गिरीको विशेष आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा विद्यालका विद्यार्थीहरुले विभिन्न साँस्कृतिक कार्यक्रम तथा कविताहरु समेत वाचन गरेका थिए ।
       विद्यार्थीहरुको तर्फबाट कक्षा १० की छात्रा शिल्पा थापा तथा शिक्षकहरुको तर्फबाट माध्यमिक तहका गणित तथा विज्ञान शिक्षक राजु भण्डारीले स्वागत मन्तव्य व्यक्त गरेका थिए ।
       कार्यक्रममा अभिभावकको तर्फबाट विश्वनाथ बरालले विद्यालयको उत्तरोत्तर प्रगतिको कामना गर्दै विद्यालयले प्रदान गर्दै आएको गुणात्मक शिक्षा तथा अनुशासनको प्रसंसा गर्नुभएको थियो ।
       विद्यालयका संस्थापक तथा प्रमुख व्यवस्थापक योगेन्द्र शर्मा दाहालले विद्यालयबाट प्रत्येक वर्ष प्रवेशिका परीक्षामा सम्मिलित विद्यार्थीहरुमध्ये ८५ प्रतिशतभन्दा बढी अंक ल्याई सर्वोत्कृष्ट हुने विद्यार्थीलाई ‘पिसजोन विद्यापदक’ बाट सम्मानित गरिने साथै नेपाल अधिराज्यमै सर्वोत्कृष्ट पाँचमा पर्न सफल विद्यार्थीलाई ‘पिसजोन स्वर्ण पदक’ बाट सम्मानित गरिने जानकारी गराउनुभयो ।
    उक्त अवसरमा विभिन्न विधामा सर्वोत्कृष्ट हुने विद्यार्थीहरुलाई पुरस्कारसमेत वितरण गरिएको थियो ।
 कार्यक्रमको संचालन विद्यालयका प्रचार्य सुरेन्द्र शर्मा दाहालले गर्नुभएको थियो ।

Wednesday, February 29, 2012

पार्टी एकताका लागि राष्ट्रिय प्रतिनिधि परिषद्को बैठक उपयोगी हुने

नेकपा एमाले
  नेकपा एमालेका बैकल्पिक पोलिटव्यूरो सदस्य तथा गण्डकी इन्चार्ज खगराज अधिकारीले पार्टीको आन्तरिक व्यवस्थापनलाई सुदृढ बनाउन राष्ट्रिय प्रतिनिधि परिषद्को बैठक उपलब्धीपूर्ण हुने बताउनुभएको छ ।
       नेकपा एमालेले संचालन गरेको पार्टी सुदृढीकरण तथा जनपरिचालन अभियान २०६८ को सन्दर्भ तथा यही फागुन २१ देखि २३ गतेसम्म काठमाण्डौमा हुने राष्ट्रिय प्रतिनिधि परिषद्को बैठकमा सहभागी हुने कास्कीका नेताहरुसँग बुद्धिजीवीहरुले गरेको अन्तरक्रिया कार्यक्रममा नेता अधिकारीले त्यस्तो बताउनुभएको हो ।
       नेकपा एमाले बुद्धिजीवी इलाका कमिटी कास्कीको आयोजनामा भएको कार्यक्रममा नेता अधिकारीले राष्ट्रिय प्रतिनिधि परिषद्को बैठक पार्टीमा भावनात्मक एकता बलियो बनाउन सहयोगी बन्ने विश्वास व्यक्त गर्नुभयो ।
       संविधान निर्माणको क्रममा एमालेले सबैखाले यथास्थिति र अतिवादी शक्तिहरुलाई मिलाउँदै अगाडि बढ्ने दृढता व्यक्त गर्दै नेता अधिकारीले सामथ्र्य र पहिचानका आधारमा आर्थिक रुपमा सक्षम हुने गरी प्रदेश निर्माण गरिने बताउनुभयो ।
       शासकीय स्वरुप बारे प्रष्ट पार्दै एमाले नेता अधिकारीले एमाले जनताद्वारा प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री र आलंकारिक राष्ट्रपतिकै पक्षमा रहेको धारणा राख्नुभयो ।
       नेकपा एमाले कास्कीका अध्यक्ष मानबहादुर जिसीले काठमाण्डौमा हुने राष्ट्रिय प्रतिनिधि परिषद्को बैठकको क्रममा हुने विशाल सभामा कास्कीबाट ७० देखि ८० बस रिजर्भ गरी एमाले कार्यकर्ता सहभागी हुने जानकारी दिनुभयो ।
       नेकपा एमाले कास्की क्षेत्र नं.३ का राष्ट्रिय प्रतिनिधि परिषद् सदस्य तथा सभासद् रविन्द्र अधिकारीले सबैखाले भावनाको कदर हुने गरी प्रदेशको विभाजन गरिनुपर्ने उल्लेख गर्दै शासकीय स्वरुपको सन्दर्भमा मिश्रित प्रणाली अपनाउन सबै पक्षलाई सहमत गराउन नेकपा एमालेले पहल गर्ने बताउनुभयो ।
       कार्यक्रममा नेकपा एमाले बुद्धिजीवी इलाका कमिटी कास्कीका अध्यक्ष श्रीकान्त खतिवडाले पार्टीको आन्तरिक व्यवस्थापन, संविधान निर्माण, राज्यको पुनःसंरचना, शासकीय स्वरुपका बारेमा अवधारणापत्र प्रस्तुत गर्नुभएको थियो ।
       सो अवसरमा नेकपा एमाले गण्डकी अञ्चल कार्यालय सचिव भीम कार्की, कास्की क्षेत्र नं.४, २ र १ का राष्ट्रिय प्रतिनिधि परिषद् सदस्यहरु क्रमशः पुण्यप्रसाद पौडेल, श्रीनाथ बराल, बेदबहादुर गुरुङ्ग लगायतका नेताहरुले राष्ट्रिय प्रतिनिधि परिषद्को बैठकमा बुद्धिजीवीहरुले उठाएका विषयहरुलाई प्राथमिकताका साथ उठाउने प्रतिवद्धता व्यक्त गर्नुभएको थियो ।
       कार्यक्रममा पेशागत महासंघ कास्कीका अध्यक्ष रामप्रसाद खनाल, बुद्धिजीवी परिषद् कास्कीका अध्यक्ष बाबुराम पौडेल, मानवअधिकार संरक्षण मञ्च कास्कीका सचिव कमलप्रसाद अर्याल, डोलराज पाण्डे, डा.कृष्ण के.सी., प्रेमनारायण खनाल लगायतका वक्ताले आ–आफ्नो विचार व्यक्त गर्नुभएको थियो ।
       पार्टी संगठन संचालन, संविधान निर्माणमा पार्टीको भूमिका प्रभावकारी हुनुपर्ने अभिप्रायका साथ सम्पन्न अन्तरक्रिया कार्यक्रममा एमाले समर्थक १ सय ३० जना बुद्धिजीवी नेताहरु तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।

Blood Donation रक्तदान कार्यक्रम सम्पन्न, ५२ जनाद्वारा रक्तदान

 Blood Donation


 Blood Donation

             सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा माटेपानी र हस्पिटलचोक ट्याक्सी इकाई समिति पोखराको संयुक्त आयोजनामा हस्पिटलचोक रामघाटमा सामुदायिक सेवा केन्द्र माटोपानीका सदस्य दानबहादुर बस्नेतको संयोजकत्वमा रक्तदान जीवनदान भन्ने मूल नाराका साथ रक्तदान कार्यक्रम सम्पन्न भयो ।नयाँ गोरख गण फूलबारी व्यारेकका गणपति प्रयागराज भण्डारीको प्रमुख आतिथ्यत तथा ट्याक्सी व्यवसायीइ समिति पोखराका अध्यक्ष गान्धीराज गिरीको विशेष आतिथ्यतामा सम्पन्न उक्त खुल्ला रक्तदान कार्यक्रममा ४७ जना पुरुष र ५ जना महिला गरी जम्मा ५२ जनाले रक्तदान गर्नुभएको थियो ।

              ट्याक्सी इकाई समिति अमरसिंहचोक, रामबजार, बुद्धचोक, भद्रकाली, एयरपोर्ट, फेवाताल, बाग्लुङ बसपार्क, भैरवटोल तथा सामुदायिक सेवा केन्द्र, अन्य समाजसेवीहरुबाट जिन्सी तथा नगद रकम पनि सहयोग स्वरुप प्रदान गर्नुभएको थियो ।

              सामुदायिक सेवा केन्द्र लेखनाथका अध्यक्ष शैलेन्द्रमोहन भट्टराई, वडा प्रहरी कार्यालय रामबजारका प्रमुख प्र.नि.मदन कुँवर, सामुदायिक सेवा केन्द्र माटेपानीका सल्लाहकार बजीरमान श्रेष्ठले यस्तो मानवीय कार्य गर्नु गराउनु तथा सहयोग गर्नु राम्रो कुरा भएको जिज्ञासा व्यक्त गर्नुभएको थियो । ट्याक्सी इकाई समिति हस्पिटलचोकका संस्थापक संयोजक मीनबहादुर गुरुङ्गले यस्तो सहकार्य आगामी दिनहरुमा पनि गर्दै जाने बताउनुभयो ।

              सो कार्यक्रमका विशेष अतिथि ट्याक्सी व्यवसायी समितिका अध्यक्ष गान्धीराज गिरीले यस्ता राम्रा कार्यहरु वाष्र्यिाक क्यालेण्डरमा नै समावेश गरी सहकार्य गर्नुपर्ने बताउनुभयो । सामुदायिक सेवा केन्द्र जिल्ला समन्वयका अध्यक्ष सीता गुरुङ्गले रक्तदान मानवीय कार्य भएको र आगामी फागू पूर्णिमा पर्वमा सबै समाजमा रहनुहुने व्यक्ति व्यक्तित्वहरुले एकआपसमा विकृति विसंगति रहित फागु पर्व मनाउनुका साथै सबै सामुदायिक सेवा केन्द्र र ट्राफिक प्रहरीको तर्फबाट निकालिएको बुँदागत सन्देश समेत पढेर सुनाउनुभएको थियो ।

              समाजमा रहेको विकृति, विसंगति तथा सामाजिक कुकृत्यको न्यूनिकरण गर्दै लैजाने यस सामुदायिक सेवा केन्द्रले अन्य संघसंस्थासँग सहकार्य गरी मानवीय सहयोग पु¥याउनु हुने आफैमा राम्रो पक्ष भएको र आगामी दिनहरुमा पनि यस्तो शुभकार्यको निरन्तरता हुनुपर्ने बताउनुभयो ।

              हस्पिटलचोक ट्याक्सी इकाई समितिका बरिष्ठ सल्लाहकार पूर्ण गुरुङ्गले स्वागत मन्तव्य राख्नुभएको उक्त रक्तदान कार्यक्रममा अन्य सामुदायिक सेवा केन्द्रका कार्यवाहक अध्यक्ष दया बरालको प्रमुख अध्यक्षतामा सम्पन्न भएको थियो भने कार्यक्रम सचिव कृष्ण प्रसाद अर्यालले संचालन गर्नुभएको थियो ।