Tuesday, May 28, 2013

घुम्ती सेवा र टोलीबाट वितरण भएको नागरिकता सम्वन्धी विवरण

२०७०/०१/१३ देखि शुरु भएको एकीकृत घुम्ती सेवा कार्यक्रम तथा २०७०/०१/१५ देखि शुरु भएको नागरिकता वितरण एवंमतदाता नामावली संकलन सम्वन्धी सम्पादित कार्यको संक्षिप्त जानकारी

जिल्ला सदरमुकाम सँग सहज पहुच नभएका तथा विभिन्न कारणले नेपाली नागरिकताको प्रमाणपत्र लिन नसकेका ग्रामीण इलाकाका वासिन्दाहरुलाई निजहरुको घरदैलो नजिकैबाट नेपाली नागरिकताको प्रमाणपत्र दिई निकट भविश्यमा हुने निर्वाचनका लागि योग्य मतदाताहरुको नामावली अध्यावधिक गर्ने अभिप्रायले नेपाल सरकार गृह मन्त्रालय र निर्वाचन आयोग समेतको कार्यक्रम अनुसार यस जिल्लामा २   (दुई) चरणमा उल्लेखित कार्यक्रम संचालन गरिएको थियो ।



एकीकृत घुम्ती सेवा संचलानको उद्देश्य:

    जिल्लाका विभिन्न कार्यालयहरुबाट प्रदान गरिने सेवाहरु एकीकृत रुपमा अधिकतम् जनतालाई पायक र सुविधा हुने गरी सरल र सहज तरिकाले उपलब्ध गराउन यस जिल्लाको विभिन्न स्थानमा घुम्ती सेवा सन्चालन गरी सरकारी सेवाबाट बन्चित भएका र जिल्ला सदरमुकामसम्म सहज पहुँच नभएका बासिन्दाहरुलाई गाउँ–गाउँसम्मै पुगी सरकारको उपस्थितीको प्रत्याभूति दिलाउन यस जिल्लामा ४ वटा एकीकृत घुम्ती सेवा सन्चालन गर्न गृह मन्त्रालयको निर्देशन रहेकोमा भौगोलिक एवम् जनसांख्यिक दृष्टिले अधिकतम् जनता लाभान्वित हुने गरी यस जिल्लाको ५ वटा स्थानमा घुम्ती सेवा मार्फत एकीकृत रुपमा सेवा प्रदान गरिएको । साथै अनुकुल समयमा अन्य स्थानमा समेत यस किसिमको घुम्ती सेवा सन्चालन गर्ने योजना रहेको छ । एकीकृत घुम्ती सेवा मार्फत जि.वि.स., मालपोत, वन, कृषि, पशु, शिक्षा, स्वास्थ्य, महिला तथा बालवालिका कार्यालय, विद्युत प्राधिकरण, नेपाल टेलिकम र निजी अस्पतालहरु समेतबाट  सेवा र परामर्श दिने काम भएको थियो ।

नागरिकता वितरण तथा मतदाता नामावली संकलन कार्यको उद्देश्य: 

    नागरिकता पाउने उमेर पुगेका योग्य ब्यक्तिहरु नागरिकताको प्रमाणपत्र पाउनबाट बन्चित हुन नपरोस र कानूनले मतदान गर्न पाउने ब्यक्तिहरुको नाम मतदाता नामावलीमा समावेश होस भन्ने अभिप्रायले नेपाल सरकार गृह मन्त्रालयले नागरिकता वितरण टोली मार्फत २ वा २ भन्दा बढी गा.वि.स.हरुको पायक पर्ने गरी केन्द्र बनाई नागरिकता वितरण टोली खटाई सोही साथ मतदाता नामावली संकलन कार्यलाई अघि बढाउन निर्देशन दिएकोमा यस जिल्लामा जनतालाई अधिकतम् सुविधा होस भन्ने हेतुले प्रत्येक गा.वि.स. मा नै टोली पुगी २÷२ दिनका दरले टोलीको मुकाम रहने गरी नागरिकता वितरण एवं मतदाता नामावली संकलन कार्य सम्पन्न गरिएको छ । वर्षातको मौसम, जनताको कृषि कार्यको ब्यस्ततालाई ध्यानमा राखी अषाढ मसान्तसम्म सम्पन्न गर्नु पर्ने कार्यलाई छिटो छरितो गरी अत्यन्त ब्यस्तताका साथ नागरिकता वितरण टोलीले अहोरात्र काम गरी जेष्ठ ९ गते भित्र प्रत्येक गा.वि.स.मा पुगी निर्दिष्ट काम सम्पन्न गरी फर्केको छ ।


कार्यक्रमको अवधि:

समग्र कार्यक्रमलाई २ चरणमा विभाजन गरी पहिलो चरणमा २०७०÷१÷१५ देखि ऐ. ३० गतेसम्म २५ गा.वि.स. मा नागरिकता वितरण कार्यक्रम र मतदाता नामावली संकलन कार्यक्रम उत्साहजनक सहभागिता साथ सम्पन्न भएको ।
   
त्यस्तै दोश्रो चरणमा २०७०/१/२७ देखि २०७०/२/९ गतेसम्म १८ गा.वि.स.मा पनि नागरिकता वितरण र मतदाता नामावली संकलन सम्बन्धी कार्य सम्पन्न भएको छ । जम्मा ४३ गा.वि.स.मा नागरिकता वितरण टोली मार्फत नागरिकता वितरण लगायतका सेवा प्रदान गरिएको र घुम्ती सेवा कार्यक्रम ५ वटा इलाका छनौट गरी सम्पन्न गरिएको । 

कार्यक्रम संयोजन एवं सन्चालन:

    एकीकृत घुम्ती सेवा कार्यक्रम, नागरिकता वितरण तथा मतदाता नामावली संकलन सम्बन्धी सम्पूर्ण कार्य जिल्ला प्रशासन कार्यालयको संयोजकत्वमा जि.वि.स.को कार्यालय, वन कार्यालय, महिला तथा बालवालिका कार्यालय, कृषि विकास कार्यालय, पशु सेवा कार्यालय, शिक्षा कार्यालय लगायतबाट सेवा एवं परामर्श दिने कार्य भएको र विशेषज्ञ चिकित्सकहरु समेतबाट स्वास्थ्य परीक्षण एवं औषधी वितरणको काम सम्पन्न गरिएको । जसबाट सुदुर ग्रामीण इलाकामा बसोवास गर्ने वृद्ध–वृद्धाहरु, महिला तथा अपाङ्ग, एवं आर्थिक रुपले विपन्न वर्गका ब्यक्तिहरु लाभान्वित भएको हुँदा एकीकृत घुम्ती सेवा निकै फलदायी रहेको अनुभव भएको छ ।

कर्मचारी एवं सुरक्षाकर्मी ब्यवस्थापन:

प्रत्येक नागरिकता वितरण टोलीमा गृह मन्त्रालयले निर्देश गरे बमोजिम अनुभवी अधिकृतहरुको छनोट गरी निजहरुको नेतृत्वमा टोली परिचालित गरिएको । प्रत्येक टोलीमा कम्तीमा ९ जना निजामती कर्मचारी र २० जना का दरले सुरक्षाकर्मी परिचालित गरिएको ।

एकीकृत घुम्ती शिविर ५ स्थानमा सम्पन्न भएको र सो को लागि करिव १६० को संख्यामा निजामती कर्मचारी र जिल्लाबाट सुरक्षाकर्मीहरु ३० जनाको दरले र आवश्यकता अनुसार स्थानीय स्तरबाट परिचालन गरिएको ।

अनुगमन एवं निरीक्षण:

    प्रत्येक एकीकृत घुम्ती सेवा कार्यक्रममा प्र.जि.अ.÷स.प्र.जि.अ. तथा सुरक्षा निकायका पदाधिकारीको अनिवार्य उपस्थिती रहेको र नागरिकता वितरण टोलीमा समेत प्रभावकारी अनुगमनको ब्यवस्था मिलाइएको थियो । प्रयाप्त सुरक्षा ब्यवस्थाको कारण कुनै पनि स्थानमा अप्रिय घट्नाहरु नघटी निर्वाध रुपमा कार्यक्रम सम्पन्न भएको ।


उपलब्धि एवं मूल्याङ्कन:

कार्यक्रमको लक्षित वर्ग जिल्ला सदरमुकामबाट टाढा रहेका र सरकारी सेवामा सहज पहुच नभएका वृद्ध, अपाङ्ग, अशक्तहरु रहेका थिए । नेपाल सरकारले देशब्यापी रुपमा संचालन गरेको नागरिकता वितरण एवं मतदाता नामावली संकलन लगायतको कार्य कास्की जिल्लाबाट अत्यन्तै शीघ्रताका साथ सम्पादन भएको  छ । नागरिकहरुको सेवा लिने उत्सुकता र सेवा प्रदायकहरुको तत्परताको परिणामले यथा समयमा कार्य सम्पन्न हुन गएको भन्ने हाम्रो ठम्याई रहेको छ । नागरिकता वितरण टोलीबाट जम्मा ४७९४ जनाले नेपाली नागरिकताको प्रमाणपत्र लिएको र मतदाता नामावली संकलन टोली मार्फत ६१०२ जनाले मतदाता नामावलीमा आफ्नो नाम दर्ता गराएका छन् । त्यस्तै घुम्ती सेवा कार्यक्रम मार्फत ५६३ जनाले ना.प्र.प. लिएका र ३४९ जनाले मतदाता नामावलीमा नाम दर्ता गराएका छन् । ७९९ जनाले स्वास्थ्य उपचार र ७९ जनाले अपाङ्गता परिचय पत्र पाएका छन् । ३३ जना ६० वर्ष माथिका जेष्ठ नागरिकहरु र २८ जना अपाङ्गहरुले ना.प्र.प. प्राप्त गरेका छन् । छोटो समयमा पनि कार्यक्रमको बारे प्रभावकारी सूचना ब्यवस्थापनले गर्दा उत्साहजनक र सहभागिता रहेको देखिदा लक्षित वर्ग लाभान्वित भएको हामीले अनुभूत गरेका छौ ।

    जिल्लामा क्रियाशील राजनैतिक दलका कार्यकर्ताहरु, विभिन्न सरकारी एवं गैर सरकारी निकायहरु, सुरक्षा निकायहरु, जि.वि.स. एवं गा.वि.स.को कार्यालयहरु, सञ्चारकर्मी एवं पत्रकारहरु, नागरिक समाज लगायत सामाजिक अगुवा ब्यक्तिहरुबाट कार्यक्रम अवधिभर आ–आफ्नो क्षेत्रबाट सराहनीय रुपमा सहयोग प्राप्त भएको छ । यसका लागि जिल्ला प्रशासन कार्यालय तत् क्षेत्रका ब्यक्तित्वहरु प्रति हार्दिक धन्यवाद दिन चाहान्छ ।

मिति २०७०/२/१४

No comments:

Post a Comment

Please, comment about this article.