Tuesday, March 12, 2019

पर्वतमा सवारी दुर्घटना-Road Accident-Parbat-Nepal

पोखरा,फागुन-७ गते
 कुश्मा नगरपालिका-८ दोबिल्ला स्थित पोखरा - बाग्लुङ सडक खण्डमा डिमुवाबाट कुश्मा तर्फ आउँदै गरेको ध १ प ६८४ नं.को मोटरसाईकल अचानक सडकबाट अन्दाजी २०/२५ मिटर तल खसी मोटरसाईकल चालक मोदी गाउँपालिका-६ बस्ने २७ वर्ष को रबिन्द्र के.सी घाईते भएको अवस्थामा आज मिति २०७५/११/२८ गते स्थानियले देखी उपचारको लागि पर्वत हस्पिटल प्रा.लि कुश्मा पठाएकोमा थप उपचारको लागि पोखरा पठाईएको छ । घटनाको विषयमा थप अनुसन्धान भईरहेको छ ।

Monday, February 18, 2019

निशानको नयाँ गाडी ‘किक्स’ पोखरा बजारमा-THE NEW NISSAN KICKS LAUNCH IN POKHARA NEPAL



पोखरा संवाददाता
पोखरा, ६ फागुन । 
प्रिमियम मोटर्स प्रा.लि.पोखराले निशानको नयाँ गाडी ‘‘किक्स’’बजारमा ल्याएको छ । कम्पनीले नेपाली बजारमा किक्सले नयाँ उचाई पाउने दावी समेत गरेको छ । किक्सलाई मूल्य, ब्राण्ड र प्रिमियमनेशको हिसाबले ‘द इन्टिलिजेन्स एसयूभी’का रुपमा स्थापित हुने दावी प्रा.लि.का प्रबन्ध निर्देशक सिरोज विजय कोइरालाले गरे । 
सोमबार प्रमुख अतिथि पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसी र प्रालिका प्रबन्ध निर्देशक कोइरालाले संयुक्त रुपमा किक्स गाडीको अनावरण गरे । सोमबार नै पाँचवटा किक्स गाडी बुकिङ समेत भएको प्रिमियम  कम्पनीले जानकारी दिएको छ । 
किक्सको फराकिलो भित्री भाग र स्टाइलिष्ट बाहिरी आवरणले ग्राहकहरुलाई आकर्षित गर्ने विश्वास प्रिमियम कम्पनीको छ । उत्कृष्ट विशेषता सहित सुरक्षाको हिसावले अब्बल मानिएको किक्स गाडी नेपाली बजारमा ईन्टी लेभलको ४७ लाख ९९ हजारमा र टप लेभलको  ५९ लाख ९९ हजारमा उपलब्ध भएको प्रशासकीय प्रमुख मोहन गिरीले जानकारी दिए । 
यस किक्स गाडीमा ८ इन्चको टचस्क्रिन जसलाई एन्ड्रोइड तथा एप्पल प्रणालीद्वारा संचालन गर्न सकिन्छ । साथै एलइडी प्रोजेक्टरको हेड ल्याम्प, अटोमेटिक क्लाइमेट कन्ट्रोल, कूल र इलुमिनेटेड ग्लोभ बक्स, क्रुज कन्ट्रोल, भ्वाइस रिकग्निसन, गाडी स्टाटको लागि साँचो नचाहिने स्मार्ट कार्ड, चालकको लागि हाइट मिलाउन मिल्ने सिट, दुईवटा एयरब्याग र ईबीडी र बीए सहितको एबीएस समावेश गरिएको कार्यक्रममा जानकारी दिईयो ।
यो एसयुभी गाडी डिजेल ईन्जिनमा एक्सएल, एक्सभी र एक्सभी प्रिमियम गरी तिन प्रकारका र पेट्रोल ईन्जिनमा एक्सएल र एक्सभी गरी दुई प्रकारका रहेका छन् । यसैगरी नयाँ निसान किक्स पर्ल ह्वाइट, ब्लेड सिल्भर, ब्रोजन ग्रे फायर रेड, एम्बर अरेन्ज, जीप ब्लु पर्ल र नाइट सेड गरी जम्मा ७ प्रकारका विभिन्न कलरमा बजारमा उपलब्ध रहेको प्रबन्ध निर्देशक कोइरालाले बताए । 
यसको स्टाइलिस डिजाइनले यसको क्षमता र ड्राइभिङ्ग डाइनामिक्सलाई परिपूरकको काम गरेको छ । नयाँ निशान किक्सको पेट्रोल इन्जिनमा १.५ एचफोरकेको ५ स्पीड ,म्यानुअल ट्रान्समिसन रडिजेल इन्जिनमा १.५ केनाइनडी डीसीआईको ६ स्पीड म्यानुअल ट्रान्समिसनमा उपलब्ध रहेको छ ।  
किक्सको माइलेज क्षमतालाई अति नै उत्तम मानिएको छ । पेट्रोल इन्जिनले प्रतिलिटर १४.२३ किलोमिटर र डिजेल इन्जिनले प्रतिलिटर २०.४५ किलोमिटर गाडी चल्नसक्ने एआरएआईले प्रमाणित गरिसकेको कम्पनीको भनाई छ । निशान कम्पनीले यसलाई ‘द इन्टिलीजेन्स एसयूभी’का रुपमा चिनाएको छ । ‘यसको डाइमेन्सन असाध्यै उत्कृष्ट रहेको छ । यसको एक्सटेरियर निकै प्रिमियम खालको छ । ग्राउन्ड क्लियरेन्स, इन्टेरियर, सुरक्षा लगायतका फिचर उत्कृष्ट रहेका छन् । अहिलेको प्रतिस्पर्धी बजारमा ‘मूल्यका हिसावले पनि किक्स गाडी विशेष रहने छ । 
थप जानकारीका लागि प्रिमियम मोटर्स प्रा. लि.का प्रबन्ध निर्देशक सिरोज विजय कोइराला ९८५१११३७७७


Monday, February 4, 2019

कास्कीमा सवारी साधनमा आगो लगाई फरार व्यक्ति २ घन्टामा पक्राउ ।

पोखरा, २०  गते 
बिहान अं.०९:४० बजेको समयमा जिल्ला कास्की पोखरा म.न.पा.वडा न.०७ जिरो कि.मी. देखि फिर्के चौतारा जोड्ने भित्रि सडक खण्ड मासवार स्थित श्रीकृष्ण मा।वि।मासवारको गेट अगाडी काम बिशेषले प्रयोगमा भएको पोखरा महानगरपालिकाको बा १ झ ५८७९ नम्बरको निशान पिकअप गाडी लाई मो.सा. तथा स्कुटरमा आएका ४/५ जनाको अज्ञात समुहले बाटो छेकि  पेट्रोल छर्कि आगो लगाई फरार भएको भन्ने सूचना जिल्ला प्रहरी कार्यालय कास्की पोखरा को कन्ट्रोलरुममा प्राप्त हुनासाथ तत्काल जि.प्र.का. कास्की बाट प्र.उ. ओम बहादुर राना र वडा प्रहरी कार्यालय बैदामबाट प्र.ना.उ.नविन कार्कीको कमाण्डमा टोली घटनास्थलमा खटी गई नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीय  र महानगरपालीकाको दमकल समेतको सहयोगमा १०:०० बजे आगो नियन्त्रणमा लिईएको । आगजनी गरिएको सवारी साधन ७० %  भन्दा बढि जलि क्षति पुगेको ।
थप अनुसन्धानको निमित्त उक्त गाडी व.प्र.का.बैदाम कास्की लगिएको र चालकले दिएको हुलिया तथा गोप्य सूचनाको आधारमा जि.प्र.का.कास्की र व.प्र.का. वैदामबाट खटिएको थप टोलीले अ. ११:३० बजेको समयमा लेकसाईड स्थित स्ट्रिट नं.९ मा रहेको होटेलमा लुकिछिपि बसेको अबस्थामा घटनामा संलग्न निम्न अभियुक्तहरु लाई नियन्त्रणमा लिईएको । साथै निजहरुले घटना घटाउन प्रयोग गरेका ग८प ५८२३ नं.को स्कुटर, ग१४प १७२९ नं.को स्कुटर र बा५६प ३४८६ नं.को एभेन्जर मो.सा समेत नियन्त्रणमा लिई थप अनुसन्धान भई रहेको ।                                        
निम्न
१.जिल्ला कास्की पो.म.न.पा.वडा न.०६ लेकसाईड बस्ने बर्ष २३ को डिफान भुजेल ।
२.ऐ.वडा न.३२ बस्ने बर्ष ३३ को पर्शुराम बस्नेत ।
३.ऐ.वडा न.३० बस्ने बर्ष ३० को राजेन्द्र बराल ।
४.ऐ.ऐ. बस्ने वर्ष ३५ को लक्ष्मी प्रसाद पौडेल ।
५. ऐ.वडा न.३३ बस्ने बर्ष २२ को बिनय पौडेल ।

जलजलामा १ हजार १ सय ३५ जनाको स्वास्थ्य परीक्षण-Mega Health Camp Kaski Nepal





पोखरा, २० माघ ।
 पर्वतको जलजला गाउँपालिकास्थित श्री ग्राम प्रकाश माविमा वृहद स्वास्थ्य शिविर सम्पन्न भएको छ । लायन्स क्लब अफ पोखरा युनिटी चौतारीको आयोजनामा शनिबार क्याम्प भएको हो ।
शिविरमा १ हजार १ सय ३५ जनाको स्वास्थ्य परीक्षण गरिएको क्लबका संस्थापक अध्यक्ष सरस्वती गिरीले जानकारी दिइन् । हिमालयन आँखा अस्पताल, मनिपाल शिक्षण अस्पताल र कान्तिपुर डेन्टल हस्पिटलको प्राविधिक सहयोगमा शिविर सम्पन्न भएको हो ।
शिविरमा ३ सय ६९ जनाको आँखा परीक्षण गरिएको छ । उनीहरु मध्ये ९ जनाको मोतिया विन्दु देखिएको छ । मोतिया विन्दुको अप्रेसन समेत क्लबले निःशुल्न गर्ने गिरीले जानकारी दिइन् । ३ सय ४७ जनाको दन्त परीक्षण गरिएको छ भने ३ सय ९२ जना महिलाहरुको परीक्षण गरिएको छ ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि लायन्सका पास्ट मल्टिपल काउन्सिल चियरपर्सन दीपक श्रेष्ठले विकट क्षेत्रमा पुगेर लायन्सले स्वास्थ्य परीक्षण गरी सामाजिक क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याएको बताए । 
क्लबका अध्यक्ष राजकुमारी थापाको सभापतित्वमा आयोजित कार्यक्रममा जोन चियरपर्सन सन्तोष घिमिरे, लायन्स लिडरहरु बालकृष्ण बराल, वसन्त गिरी, गोपाल थापा, कृष्ण कार्की, श्रीलाल चापागाईं, विद्यालयका प्राचार्य भवानीशंकर पौडेल, वडा अध्यक्ष तीलक बहादुर जिसी लगायतले बोलेका थिए । 
कार्यक्रमलाई सफल पार्न लायन्स क्लब अफ बेनी मल्लाज, नेपाल रेडक्रस सोसाइटी शालिजा लेकफाँट उपशाखा पर्वत, जलजला गाउँपालिका वडा नं. ५ र ६, लेकफाँट प्रहरी चौकी, सालिजा स्वास्थ्य चौकी लगायतको सहयोग गरेको क्लबले जनाएको छ ।

Monday, January 21, 2019

मौजाका विद्यार्थीलाई सेनिटरी प्याड तथा शैक्षिक सामग्री वितरण Pokhara News

पोखरा, ७ माघ ।
रोटरी क्लब अफ पोखरा न्युरोडले पोखरा–२० मौजाका विद्यार्थीलाई सेनिटरी प्याड तथा शैक्षिक सामग्री वितरण गरेको छ । रोटरी मोडल भिलेज अभियान अन्तर्गत क्लबले सोमबार मौजाको हिमालय माविका छात्रालाई पुनःप्रयोग गर्न मिल्ने सेनिटरी प्याड वितरण गरको हो ।
बाबा फाउन्डेसनसँगको सहकार्यमा क्लबले सेनिटरी प्याड, कापी, कलम लगायत सामग्री विद्यालयलाई हस्तान्तरण गरेको छ । प्रिमियर इन्स्योरेन्सको सहयोगमा क्लबले हाइजिन किट समेत सहयोग ग¥यो । रोटरी क्लबकै पहलमा उत्कृष्ट सय गन्तब्यभित्र परेको मौजालाई चार वर्षभित्र मोडल भिलेज बनाउने क्लबको योजना छ । क्लबले आधारभूत शिक्षा तथा साक्षरता, शुद्ध पिउने पानी तथा सरसफाइ, रोग निवारण, शान्ति तथा द्वन्द्व व्यवस्थापन, मातृ शिशु स्वास्थ्य र आर्थिक तथा सामुदायिक विकासको अवधारणा अघि सारेको छ । गत जेठदेखि क्लबले उक्त अवधारणामा विविध कार्यक्रम गर्दै आएको छ ।
क्लबका तर्फबाट मोडल भिलेज कार्यक्रमका संयोजक सुवास सिग्देलले नमूना गाउँ बन्न आवश्यक विद्यार्थीको स्वास्थ्य तथा सरसफाइलाई मध्यनजर गर्दै क्लबले उक्त सामग्री प्रदान गरेको बताए । ‘महिनावारी हुँदा कतिपय विद्यार्थी लाजले विद्यालय नै नआउने अवस्था छ,’ सहयोग हस्तान्तरण कार्यक्रममा उनले भने, ‘यो लाजको विषय होइन भन्नका लागि विद्यालयबाटै सेनिटरी प्याड उपलब्ध होस् भनेर सहयोग गरेका हौं ।’ उनले पुनःप्रयोग गर्न मिल्ने सेनिटरी प्याडले वातावरण समेत दुषित नबनाउने उल्लेख गरे ।
क्लबका अध्यक्ष पुष्पकमल पौडेलले चार वर्षभित्र मोडल भिलेज घोषणा गर्न विद्यार्थीको उल्लेख्य भूमिका हुने बताए । ‘गाउँमा युवा र विद्यार्थीको सक्रिएता भएमात्रै हाम्रो अभियानले सफलता पाउँछ,’ उनले भने, ‘विद्यार्थीको आवश्यकताअनुसार स्टेसनरी र पोशाक पनि उपलब्ध गराउँछौं ।’ उनले मोडल भिलेजका लागि आवश्यक अन्य पूर्वाधार चार वर्षभित्र पुरा गर्ने जनाए । 
विद्यालयका प्रधानाध्यापक मणिराज परियारले छात्रालाई अत्यावश्यक रहेको सेनिटरी प्याड सहयोग गरेकोमा क्लबलाई धन्यवाद व्यक्त गरे । शैक्षिक सामग्रीको सहयोगले विद्यार्थीको सिर्जनशिलता बृद्धि हुने उनले अपेक्षा गरे । उक्त अवसरमा विद्यार्थीले मौजा होमस्टे सम्बन्धि गीत गाएर सुनाएका थिए । विद्यालयकी छात्रा एवं मोहरिया बाल क्लबकी अध्यक्ष प्रकृति परियारले सेनिटरी प्याड विद्यालयमा सहजै उपलब्ध हुँदा विद्यार्थीको उपस्थिति बढ्ने बताइन् । क्लबले बाबा फाउन्डेसनसँगको सहकार्यमा विभिन्न शिक्षा तथा वातावरणको क्षेत्रमा सहयोग पु¥याउँदै आएको छ ।