Monday, March 7, 2016

पत्रकार राजाराम पौडेल रिमझिम दोहोरी साँझमा सम्मानित


 पोखरा २४ फागुन
 पोखराको विरौटामा रहेको रिमझिम दोहोरी साँझको प्रथम वार्षीकोत्सवको अवसरमा पत्रकार राजाराम पौडेललाई सम्मान गरेको छ । पत्रकारिताको माध्यमबाट नेपाली लोक संस्कृती र नेपाली लोक दोहोरी क्षेत्रको बारेमा गरेको योगदानको कदर गर्दै पत्रकार पौडेललाई सम्मान गरिएको हो । उनलाई नगद ३ हजार ३ सय ३३, दोसल्ला र सम्मानपत्रले कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ लोकदोहोरी गायिका कोमल वलीले सम्मान गरेकी थिइन् । प्रेस चौतारी कास्कीका कोषाध्यक्ष तथा चलचित्र पत्रकार संघ कास्कीका उपाध्यक्ष समेत रहेका पौडेलले लोक संस्कृतीको क्षेत्रमा कलम चलाउने सबै पत्रकारलाई यो सम्मानले उत्पेरणा प्रदान गरेको बताए । पत्रकार पौडेल सुनौलो एफ एम, हाम्रो कलम राष्ट्रिय दैनिक, गोल्डेन न्युज राष्ट्रिय दैनिक, सफल न्युज डट कममा आवद्ध छन् । यसैबिच दोहोरी साँझले लोकदोहोरी गायक श्रीराम अधिकारी, उत्कृष्ठ कर्मचारीको रुपमा गायक गगन गुरुङ र राम्रो सेवा प्रदान गर्ने कर्मचारी मनिषा श्रेष्ठलाई सम्मान गरेको थियो । उनीहरुलाई पनि नगद, दोसल्ला र सम्मानपत्रले सम्मान गरिएको हो ।

दोहोरी साँझले आफ्नो वार्षीकोत्सवको अवसरमा एकहप्तासम्म चर्चीत कलाकारको साथमा विशेष कार्यक्रमको आयोजना समेत गरिरहेको छ ।  फागुन २७ गतेसम्म सञ्चालन गरिने यो कार्यक्रममा राष्ट्रिय तथा स्थानिय कलाकारको सहभागिता रहने कार्यक्रम संयोजक समेत रहेका वरिष्ठ लोकदोहोरी गायक पुरुषोत्तम न्यौपानेले बताए ।

एक हप्ते कार्यक्रममा चर्चित राष्ट्रिय कलाकार कोमल वली, पुरुषोत्तम न्यौपाने, रामभक्त जोजीजु, रमेश विजी, कुमार पुन, जुना श्रीस मगर, राधिका हमाल, निता पुन, शंकर विरही गुरुङ, जानकी मगर लगायतले आफ्नो प्रस्तुती राख्दै आएका छन् । २०७१ साल फागुन २२ गतेबाट पिताम्बर भण्डारी, पुरुषोत्तम न्यौपाने, श्रीराम वराल, ईश्वर श्रेष्ठ, प्रेमलाल पाण्डे, कुमार पुन, नविन आले र जानुका भट्टराईको संयुक्त लगानिमा पोखराको विरौटामा दोहोरी साँझ सञ्चालनमा आएको हो । दोहोरी सञ्चालन गर्न ९४ लाख लगानी लागेको सञ्चालक न्यौपानेले  बताए । दोहोरी साँझमा १६ कलाकार सहित ३५ जना कर्मचारी कार्यरत रहेका छन् । नियमित कलाकारको रुपमा पुरुषोत्तम न्यौपाने, कुमार पुन, गगन गुरुङ, श्रीराम अधिकारी, बुद्धि थापा, होम नेपाली, सपना वि.क., प्रेमा मगर, रजनि मगर, सञ्जु थापामगर, उषा पुन, राजेन्द्र परियार, विमल गायक, अनुप गुरुङ, जितेन्द्र सेन्चुरी, मदन गिरीले साँझमा दैनिक प्रस्तुती राख्ने गरेको उनले बताए ।

Tuesday, March 1, 2016

भाष्करमा विद्यार्थी सम्मान-Pokhara-News


पोखरा, १७ फागुन ।
पोखरा ११ फुलबारीमा अवस्थित भाष्कर मेमोरियल स्कूलले विद्यार्थीलाई सम्मान तथा पुरस्कार वितरण गरेको छ ।
    हालै सम्पन्न लेखनाथ महोत्सवमा नृत्य विद्यामा तृतीय हुन सफल एलिना पुनलाई एक कार्यक्रमको आयोजना गरी विद्यालयले सम्मान गरेको हो । उनलाई विद्यालयका शिक्षकहरु गणेश बहादुर राना, होमराज अधिकारी लगायतकाले सम्मान गरेका थिए ।
यसै बीच विद्यालयले अतिरिक्त क्रियाकलाप अन्तर्गत कथा लेखन प्रतियोगिता सम्पन्न गरेको छ । प्रतियोगितामा प्रा.वि. तहमा अदिती पौडेल, विनम्र बास्तोला, विराज ढुंगाना र कृपा सुवेदीले क्रमशः सान्त्वना, तृतीय, द्वितीय र प्रथम स्थान हासिल गरे ।
    त्यसैगरी नि.मा.वि. तहमा यूरिका गुरुङ, निर्देश सुवेदी, किरण आचार्य र गरीमा गौतमले क्रमशः प्रथम, दितीय, तृतीय र सान्त्वना स्थान प्राप्त गरे भने मा.वि. तहमा अपर्णा बास्तोला, सोनीका ढुंगाना र श्रुती अधिकारीले प्रथम द्वितीय र तृतीय स्थान हासिल गरेको अतिरिक्त क्रियाकलाप विभाग प्रमुख शिक्षक गोविन्द थापाले बताए ।

न्याश्नल ईन्भेन्टिभमा विद्यार्थीको विदाई

पोखरा १७ फागुन ।
पोखराको बैदामस्थित न्याश्नल ईन्भेन्टिभ आवासीय उच्च माविबाट प्रवेशिका परिक्षा दिने कक्षा १० का विद्यार्थीहरुलाई सोमबार विदाई गरिएको छ ।
कक्षा ९ का विद्यार्थीहरुले आयोजना गरेको विदाई कार्यक्रममा शुभकामना दिनुहुँदै विद्यालयका प्राचार्य उमा लामिछानेले एस एल सी परिक्षा २०७२ मा सहभागि हुने सम्पूर्ण विद्यार्थीहरुलाई मेहनतका साथ पढ्न आग्रह गर्नुभयो । उहाँले परीक्षामा उत्कृष्ठ अंकका साथ उत्तिर्ण हुनका लागि लगनशील भएर अघि बढ्नुपर्ने आवस्यकता औँल्याउनुभयो । कक्षा ९ का छात्रा बिपना पहारीको अध्यक्षतामा आयोजित उक्त कार्यक्रममा विद्यालयका सह प्राचार्य विक्रम पौडेल,  कक्षा १० का छात्र योगेन्द्र राना, कक्षा ९ का छात्र प्रशिद्ध दाहाल लगायतले पनि बोल्नुभएको थियो । सो अवसरमा कक्षा ९ र १० का विद्यार्थीहरुबीच मायाँको चिनो आदानप्रदान गरिएको थियो भने नृत्य तथा गीत समेत प्रस्तुत गरिएको थियो । कक्षा ९ का छात्रा लस्ता श्रेष्ठले स्वागत मन्तव्य व्यक्त गर्नुभएको उक्त कार्यक्रमको सञ्चालन समेत कक्षा ९ का विद्यार्थीहरुले नै गरेको विद्यालयले जनाएको छ । उक्त विद्यालयबाट यस वर्ष ४८ जना विद्यार्थीहरु प्रवेशिका परीक्षामा सहभागि हुँदैछन् ।

भुर्तेल बन्धुहरुको कुल पूजा-Pokhara News


पोखरा, १७ फागुन
भुर्तेल बन्धु समाज नेपालको कुलपूजा सम्पन्न भएको छ । माझठाना ६ स्थित नवनिर्वित कुल मन्दिरमा सोमबार पूजा सम्पन्न भएको हो । समाजका अध्यक्ष सोमनाथ भुर्तेलको अध्यक्षतामा आयोजित पूजामा १ सय वटा बोकालाई बलि दिइएको छ ।
नेपाल खाद्य संस्थानका केन्द्रीय अध्यक्ष प्रकाशबहादुर भुर्तेल केसीको प्रमुख आतिथ्यतामा आयोजित पूजामा विष्णुप्रसाद भुर्तेल, यादवचन्द्र भुर्तेल, विश्वबन्धु भुर्तेल, कृष्णमणि भुर्तेल, चेतकृष्ण भुर्तेल, भोजराज भुर्तेल, कूल मन्दिर निर्माण समितिका संयोजक प्रजापति भुर्तेल, अर्थ संंकलन समितिका संंयोजक दुर्गादत्त भुर्तेल, स्मारिका प्रकाशन समितिका संयोजक कालिप्रसाद भुर्तेल लगायतले बोलेका थिए ।
जग्गादाता डिल्लिराम भुर्तेल तथा कुल मन्दिर निर्माणार्थ ५ हजार रुपैयाँ भन्दा बढी सहयोग गर्नेहरुलाई उक्त अवसरमा प्रमाणपत्र र दोसल्लाबाट सम्मान गरिएको छ । पूजामा विभिन्न क्षेत्रमा छरिएर रहेका भुर्तेल बन्धुहरुकोे उल्लेखनीय सहभागिता रहेको समाजले जनाएको छ । कूल मन्दिर निर्माण समितिका संयोजक प्रजापति भुर्तेलको घरबाट पूजाको दियोकलश निकाली गाउँ परिक्रमा गराइएको थियो ।

शाहीलाई गण्डकी पत्रकारिता पुरस्कार-Pokhara News Nepal

गण्डकी सञ्चार गृहद्धारा स्थापित तथा सञ्चालित गण्डकी पत्रकारिता पुरस्कार २०७२ बाट गण्डकी सञ्चार गृहका बरिष्ठ सम्बाददाता नारायाण शाहीलाई सम्मान गर्ने भएकोछ । रेडियोको तर्फबाट स्टेशन म्यानेजर घनश्याम पाण्डेय, पत्रकार महासघ कास्कीका सचिव त्रिभुवन पौडेल र क्रान्तिकारी पत्रकार संघका कास्कीका संयोजक दिपक परियार रहेको प्रतिभा छनोट समितिले शाहीलाई सिफारिस गरेको हो । शाहीलाई रेडीयोका बार्षिकोत्सवको दिन रेडियोको प्राङ्गणमा हुने विशेष समारोहमा नगद पाँच हजार सहित प्रमाण पत्रद्धारा सम्मान गर्ने संचार गृहले जनाएको छ ।
तनहुँ जिल्ला बरभञ्ज्याङ नाबरुङमा जन्मनुभएका पत्रकार शाहीले २०५३ सालदेखि पत्रकारिता शुरु गर्नुभएको हो । शाही गण्डकी सञ्चार गृहमा २०६४ सालदेखि आबद्ध हुनुहुन्छ भने यसअघि, उहाँले दृष्टी, जनादेश, समदृष्टि र निष्पक्ष  लगायतका साप्ताहिक पत्रिकाहरुमा काम गर्नुभएको थियो । त्रिभूवन बिश्वबिद्यालयबाट पत्रकारिता तथा आमसञ्चार बिषयमा स्नाकोत्तर गर्नुभएका शाही हाल प्रेस रिपोर्ट साप्ताहिक अखबारको सम्पादक समेत हुनुहुन्छ ।