Saturday, June 7, 2014

सामुदायिक प्रहरी कास्कीको वृक्षारोपण अभियान- Community police Kaski organizes afforestation

जेष्ठ २२, पोखरा ।
समाजमा रहेका विभिन्न विकृति विसंगति न्यूनीकरण गर्दै समाजलाई अपराध रहित बनाउन कास्की जिल्लामा क्रियाशिल सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा केन्द्रहरु हरपल लागिरहेकोमा हाल विश्व वातावरण दिवसको अवसर पारी कास्की जिल्लाका विभिन्न स्थानमा अभियानको रुपमा वृक्षारोपण तथा गोडमेल कार्य सम्पन्न भयो । 
सामुदायिक सेवा एवं सामुदायिक प्रहरी सेवा जिल्ला समन्वय समितिको समन्वयमा जिल्ला वन कार्यालय कास्कीको विरुवा सहयोग भएको थियो । बकैनो, कल्की, कपुर, लप्सी, धुपी, पारिजात, कोईरालो, गुलमोहर, तेजपत्ता, तथा स्थानिय व्यक्तिहरुबाट प्राप्त वर, पिपल, स्वामी समेत गरी ४०० विरुवा रोपण गरियो ।
पोखरा १ गाईघाटमा सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा केन्द्र बगरका अध्यक्ष पुरुषोत्तम श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै प्रमुख अतिथि पश्चिम क्षेत्रिय प्रहरी कार्यालय पोखराका प्रहरी नायव महानिरीक्षक बमबहादुर भण्डारीले हरेक प्राणीको रक्षाको लागि वातावरण जोगाउन महत्वपूर्ण रहेको बताउनुभयो । वातावरणमा भएको उष्णताका कारण हाल दिनानुदिन हिमाल पग्लदै गएको र जीवनमा प्रतिकुल असर परेको बताउनुभयो ।
पोखरा ९ शान्तिघाटमा सामुदायिक सेवा एवं सामुदायिक प्रहरी सेवा जिल्ला समन्वय समिति कास्कीका अध्यक्ष लालबहादुर श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा शान्ति वनवाटिका टोलविकास संस्था, शान्तिघाट आमा समूह शान्ति वन आमा समुह लगायत स्थानिय संघ संस्था तथा व्यक्तिहरुको सहभागिता रहेको थियो ।
सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा केन्द्र पृथ्वीचोकका अध्यक्ष चिरञ्जीवि श्रेष्ठको अध्यक्षतामा पृथ्वीचोक स्थित आईल्याण्डमा धुपी लगायत फूलका विरुवा रोपण गरियो ।
सामुदायिक सेवा केन्द्र बैदामको अध्यक्ष पम्फा पहारीको अध्यक्षतामा बैदाम स्थित फेवातालको किनारा (फूट ट्रयाक) मा जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी उपरीक्षक बसन्त कुमार लामाको प्रमुख आतिथ्यतामा वृक्षारोपण कार्य सम्पन्न भयो जहाँ सशस्त्र प्रहरी बलबाट समेत सहभागिता रहेको थियो ।
सामुदायिक सेवा केन्द्र कालिकाका अध्यक्ष केदारनाथ अधिकारीको अध्यक्षतामा कालिका गाविस वडा नं.५ स्थित जनज्योती उमावि र गाविस भवनको वरपरको खाली पाखामा वन विज्ञान अध्ययन संस्थानका क्याम्स प्रमुख हरी प्रसाद त्रिपाठीको प्रमुख आतिथ्यतामा वृृक्षारोपण कार्य सम्पन्न भयो ।
त्यसैगरी २१ गते नै सामुदयिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा केन्द्र माटेपानीका अध्यक्ष दया बरालको अध्यक्षता र जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी उपरीक्षक बसन्त कुमार लामाको प्रमुख आतिथ्यतामा  भद्रकाली मन्दिर परिसरमा वृक्षारोपण गरियो भने सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा केन्द्र लेखनाथका अध्यक्ष शेर बहादुर गुरुङको अध्यक्षतामा र लेखनाथ नगरपालिकाका कार्यकारी अधिकृत रामचन्द्र पौडेलको प्रमुख आतिथ्यतामा वडा नं.१ र १२ को वडा सेवा केन्द्र परिसरमा वृक्षारोपण कार्यक्रम सम्पन्न भैसकेको छ ।
                               

No comments:

Post a Comment

Please, comment about this article.