Friday, July 6, 2012

कास्कीमै पहिलो पटक ‘सहकारीमा शिक्षा उपसमितिको भूमिका’ विषयक अन्तरक्रिया सम्पन्न

      संगम बचत तथा ऋण सहकारी संस्था लि., रामबजार पोखरा–१५ अन्तर्गतको शिक्षा, तालिम तथा सूचना उपसमितिको आयोजना तथा अन्तर्राष्ट्रिय सहकारी वर्ष २०१२ जिल्ला कार्यान्वयन समिति, कास्कीको समन्वयमा ‘सहकारीमा शिक्षा उपसमितिको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो ।
      पोखरामा अवस्थित विभिन्न सहकारी अन्तर्गतका शिक्षा उपसमितिका संयोजक तथा प्रतिनिधि गरी ४५ जनाको उपस्थिति रहेको उक्त कार्यक्रममा प्रमुख अतिथिको मन्तव्य राख्दै जिल्ला सहकारी संघ कास्कीका अध्यक्ष प्रभा कोइरालाले सहकारीबीचको स्वस्थ प्रतिस्पर्धाले समुदाय अनि सहकारी दुवैलाई फाइदा पुग्ने बताउनुभयो ।
      सोही कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै कास्की बचत तथा ऋण सहकारी संघका अध्यक्ष भीम गुरुङ्गले सहकारीमा शिक्षा उपसमितिको भूमिका महत्वपूर्ण हुने र उपसमिति सक्रिय भएर लाग्न सकेमा सहकारी मजवुत र सुदृढ हुँदै जाने धारणा राख्नुभयो ।
      संगम सहकारी संस्थाका अध्यक्ष निरज थापाको अध्यक्षतामा भएको उक्त कार्यक्रमलाई शिक्षा उपसमिति सदस्य ई.जायश्वर पुरीले संचालन, शिक्षा उपसमिति सदस्य कृष्णबहादुर थापाले सहकारीका सात सिद्धान्त वाचन र शिक्षा उपसमिति संयोजक तथा कार्यक्रम संयोजक तिलक थापाले उद्देश्यमाथि प्रकाश पार्दै स्वागत मन्तव्य राख्नुभएको थियो ।
      कोन सहकारी संस्थाका शान्त कुमार श्रेष्ठ र नवसिद्धार्थ महिला बचत तथा ऋण सहकारी संस्थाका तारा कोइराला लगायतले मन्तव्य राख्नुभएको उक्त कार्यक्रममा सहभागीहरुले आफ्नो अनुभव र जिज्ञासा राखेका थिए । कास्की जिल्लामा नै पहिलो पटक आयोजित यसप्रकारको सहकारीसम्बन्धी अन्तरक्रिया निकै नै उपलब्धीमूलक भएको सहभागीले बताएका थिए ।

No comments:

Post a Comment

Please, comment about this article.