Friday, May 20, 2011

पर्यटक सुरक्षाका लागि सूचनामूलक बोर्ड राखियो


पोखरा क्षेत्रको भ्रमणमा आउने पर्यटकहरु लुटिने र असुरक्षित हुने क्रम देखिएपछि उनीहरुको सुरक्षाका लागि पश्चिमाञ्चल होटल संघ पोखराले सन्देशमुलक साइनबोर्डहरु राख्ने अभियान अगाडि बढाएको छ । नेपाल पर्यटन वोर्डसँग मिलेर त्यस्तो अभियान अगाडि बढाइएको संघका अध्यक्ष विप्लव पौडेलले  जानकारी दिनुभएको हो । पहिलो चरण अन्तर्गत विश्व शान्ति स्तुप जाने मार्ग स्थित ड्यामसाइड पारी त्यस्तो बोर्ड विहिवार राखिएको छ ।

कास्कीका प्रमुख जिल्ला अधिकारी सम्भु कोइरालाले बोर्डको उद्घाटन गर्नुभएको थियो । कूल ४५ हजार रुपैयाँको लागतमा विभिन्न ठाउँमा छ वटा बोर्ड राखिने अध्यक्ष पौडेलले जानकारी दिनुभयो । समाज र पर्यटन क्षेत्रप्रति संघ उत्तरदायी छ भन्ने नमुना देखाउन पनि बोर्ड राखिएको संघले जनाएको छ । विश्व शान्ति स्तुप क्षेत्र बढी मात्रामा पर्यटक लुटिने क्षेत्र भएका कारण सो क्षेत्रमा बोर्ड स्थापना गरिएको संघले जनाएको छ ।

यसैगरी सराङकोटको सेदी, छोरेपाटनपट्टिबाट विश्व शान्ति स्तुप उक्लने मार्ग र वाराही मन्दिर पारी स्तुप उक्लने मार्गमा पनि बोर्ड राखिने संघका महासचिव विकल तुलाचनले जानकारी दिनुभयो । भ्रमणमा जाँदा समूहगत रुपमा जान, आफ्ना महत्वपूर्ण र महंगा सामान होटलमै छाड्न र केही घटना भइहालेमा हेल्पलाइनको रुपमा रहेका पर्यटन प्रहरी, प्रहरी र वडा प्रहरी जस्ता क्षेत्रमा सम्पर्क गर्न आग्रह गरेर सन्देशहरु बोर्डमा राखिएको छ ।

No comments:

Post a Comment

Please, comment about this article.