Saturday, July 3, 2010

रामबजार सोसाइटी युकेद्वारा एम्बुलेन्स सहयोग

पोखराको रामबजारमा स्थायी घर भई हाल बेलायतमा रहेका नेपालीहरुले एम्बुलेन्स सहयोग गरेका छन् । रामबजार सोसाईटी यूकेले नेपाल रेडक्रस सोसाईटी उपशाखा वडा नं १० र ११ लाई एम्बुलेन्स हस्तान्तरण गरेको हो । 
रामबजार टोल सुधार समितिको समन्यवमा उक्त एम्बुलेन्स रेडक्रस उपशाखाले संचालन गर्ने गरी रामबजार सोसाईटी यूकेका सल्लहाकार चन्द्रबहादुर पूनले शनिबार एक समारोहबिच हस्तान्तरण गर्नु भएको थियो । रामबजारका करिव २ सय ५० जना यूकेमा रहेपनि ९२ जनाले ९ लाख ७१ हजार सहयोग गरेको एम्बुलेन्स संचालन समितिका महासचिव सम्मरबहादुर श्रेष्ठले जानकारी दिनुभयो ।
सो अवसरमा प्रमुख अतिथि पुनले रामबजारवासीले गरेको यस्तो कार्यदेखी ज्यादै हर्षित भएको र आगामी दिनमा रामबजार सोसाइटी यूकेको सहयोग अझै निरन्तर रहने र आगामी दिनमा पनि स्वास्थ्य क्षेत्रमा कार्यक्रम अघि बढाउनु पर्ने सुझाव दिदैं स्वास्थ्य क्षेत्रमा पनि लगानी गर्न हामी तयार भएको बताउनुभयो । साथै एम्बुलेन्स संचालनको लागि छुट्टै अक्षयकोष स्थापनाको लागि आफूले पहल गर्ने बचनबद्धता पनि व्यक्त गर्नुभयो ।
उक्त एक्बुलेन्स संचालन गर्नका लागि लेखबहादुर थापाले २५ हजार ५ सय, सूर्य बानिया, सम्मरबहादुर श्रेष्ठ र अमृत पौडेलले जनही २५ हजार १ सय २५ रुपैयाँ अक्षय कोषका लागि सहयोग गरी करिव १ लाखको अक्षय कोष स्थापना गर्नु भएको छ । एम्बुलेन्स संचालन गर्नका लागि अहिले खर्च नभएकोले अक्षयकोष स्थापना गरिएको श्रेष्ठले बताउनुभयो ।
कार्यक्रममा समाजसेवी निरज थापा, बम्हाकुमारी ईश्वरीय विश्वविद्यालय रामबजार शाखाकी सञ्चालिका गोमा, नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा कास्कीका सदस्य कृष्ण तिमिल्सिनाले शुभकामना मन्तव्य राख्नु भएको थियो ।
नेपाल रेडक्रस सोसाइटी उपशाखा १०÷११ का सभापति जीवननाथ पौडेलको सभापतित्वमा भएको  कार्यक्रममा स्वागत मन्तव्य टोल सुधार समिति रामबजारका अध्यक्ष तेजप्रसाद दाहालले राख्नु भएको थियो भने कार्यक्रमको संचालन नेपाल रेडक्रस सोसाइटी उपशाखा १०÷११ एवं एम्बुलेन्स संचालक समितिका सचिव बालाकृष्ण शर्माले गर्नुभएको थियो । 
उक्त अवसरमा रामबजार चोकबाट तायमचा नाचको बाजागाजासहित स्थानीय कालिका मन्दिर, अमरसिंह चोक, बुद्धचोक, गौरीमार्ग हुँदै रामबजारबाट कृष्णमन्दिरमा पुगी सभामा परिणत भएको थियो । कार्यक्रममा एम्बुलेन्स प्राप्तिको प्रकृया, हालसम्म संकलित रकम एवम् खर्चको विवरण एवम् सो सञ्चालन सम्बन्धमा सम्भावित समस्याहरुको विस्तृत रुपमा एम्बुलेन्स सञ्चालक समितिका महासचिव एवम नेपाल रेडक्रस सोसाइटी उपशाखा १०÷११ का उपसभापति सम्मरबहादुर श्रेष्ठले पेश गर्नुभएको थियो । प्रमुख अतिथि एवम् रामबजार सोसाइटी यूकेका सल्लाहकार क्या. चन्द्रबहादुर पुन, उहाँकी धर्मपत्नी, बहिनी सरिता पुन र उहाँका परिवार समेतलाई सम्मान गरिएको थियो । उक्त कार्यक्रममा परम्परा फिल्स्का निर्देशक केशबहादुर गुरुङलाई पनि खादा ओढाई सम्मान गरिएको थियो । 
टोल सुधार समिति रामबजार–१०÷१५, रामबजार तायमचा नाच समिति रामबजार–१०÷१५, नेपाल रेडक्रस सोसाइटी उपशाखा १०÷११, श्रीकृष्ण मन्दिर आमा समूह, श्रीकृष्ण मन्दिर सञ्चालक समिति, रामबजार ट्याक्सी ईकाई समिति, माछापुच्छे« महिला समूह, सीताटोल आमा समूह, समाजकल्याण महिला समिति लगायतका संघसंस्थाहरुले खादा ओढाई क्या.पुनलाई सम्मान गर्नुभएको थियो ।
सो अबसरमा रामबजार टोल सुधार समिति र नेपाल रेडक्रस सोसाइटी उपशाखा १०÷११ ले सम्मानपत्र तथा मायाको चिनो प्रदान गरेको थियो । सो कार्यक्रम कृष्णमन्दिरको प्राङ्गणमा गरिएको थियो । एम्बुलेन्सको सेवा आवश्यक परेमा सम्पर्क फोनः ९८०४१०५१००, ९८४६०३३३११ र चालकको फोनः ९८०६६८७६२१ मा सम्पर्क गरी सेवाको फाइदा लिनुहुन अनुरोध छ ।

No comments:

Post a Comment

Please, comment about this article.