पोखरा, १२ फागुन ।
हिमालय माध्यमिक विद्यालय पोखरा लेखनाथ २० मौजाको ४६ औं वार्षिकोत्सव, अभिभावक दिवस एवं पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको छ ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरिप्रसाद गुरुङ्गको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि जिल्ला शिक्षा अधिकारी नरेन्द्रराज पौडेलले अबको आवश्यकता भनेको प्राविधिक शिक्षा रहेको औंल्याउँदै व्यवसायिक शिक्षामा पनि जोड दिनुपर्ने औंल्याए । उनले विद्यालयको शैक्षिक उन्नतिमा विद्यालय परिवार, शिक्षक, विद्यार्थी, अभिभावकको सामूहिक भूमिका महत्वपूर्ण हुने बताए ।
कार्यक्रममा पोखरा लेखनाथ म.न.पा.वडा नं. २० का वडाअध्यक्ष सिम बहादुर गुरुङ्ग, विद्यालय व्यवस्थापन समिति सल्लाहकार समिति सदस्य तिलबहादुर गुरुङ्ग, पाहर ट्रष्ट नेपालका निर्देशक मे.चन्द्र बहादुर गुरुङ्ग, हिमालय मावि भूपू विद्यार्थी एशोसिएशनका सचिव चित्र बहादुर गुरुङ्ग, महेन्द्र मावि भलामका प्र.अ कालिप्रसाद पौडेल, अभिभावक भिम बहादुुर गुरुङ्ग लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
कार्यक्रममा यस वर्षको उत्कृष्ट शिक्षक सम्मानबाट शिक्षिका राधा आचार्य सिग्देल र शिक्षक बेदनाथ पौडेललाई सम्मान गरिएको थियो भने सोँधा श्रोत केन्द्रका श्रोतव्यक्ति तथा विद्यालयका शिक्षक डोलराज रेग्मी र विद्यालयका प्रअ मणिराज परियारलाई पनि सम्मान गरिएको थियो ।
विद्यालयका प्रअ मणिराज परियारले आयव्यय सहितको वार्षिक प्रतिवेदन प्रस्तुत गरेको कार्यक्रममा स्वागत शिक्षिका देवी कुमारी थापा र विद्यार्थी सन्दीप सापकोटा तथा कार्यक्रमको संचालन शिक्षक रोशन श्रेष्ठले गरेका थिए ।
कार्यक्रममा विद्यार्थीहरुद्वारा विविध सास्कृतिक कार्यक्रम प्रस्तुत गरिएको थियो ।


