Tuesday, November 26, 2019

समाजवादीका बाबुराम र धर्मराज बेग्लाबेग्दै घरदैलोमा





 पोखरा, ९ मंसिर
वडा नम्बर १६ अर्मला समाजवादी पार्टीका उम्मेदवार धर्मराज गुरुङको जन्मगाउँ हो । कास्की क्षेत्र नम्बर २ को उम्मेदवार बनेर अर्मला घरदैलोमा पुग्दा गाउँले उत्साहित भए । अर्मलाको माटोले जन्माएको व्यक्ति अहिले चुनावमा उम्मेदवार भएकोमा खुसी हुँदै जोगीमणी र अर्मला गाउँका मतदाताले इन्जिनियर धर्मराजलाई शुभकामना दिए, ‘चुनाव जित्नु र विकास गर्नु ।’
देशविदेशको अनुभवलाई राजनीतिमार्फत संसद पुगेर आफ्नै देशमा लगाउने बताएपछि स्थानीयले बधाइ दिए । ज्येष्ठ नागरिक गमा गुरुङले आशिष दिँदै भनिन्, ‘जाउ बाबु, देश बनाउ । जनतालाई सुख दिने बाटो गर ।’
उम्मेदवार गुरुङले एक मौका दिए काम गरेर देखाउने गाउँलेलाई बताए । अर्मलाको माटोमा जन्मिएको धर्मराजले जालझेल र झुटको राजनीति कहिल्यै नगर्ने उनले प्रतिवद्धता गरे । ‘म भ्रष्टाचार गर्न जान्दिन । यो देशमा असल व्यक्ति अब राजनीतिमा आउनु पर्छ,’ धर्मराजले भने, ‘तपाईंहरुले पहिलेपहिले अरुलाई जिताउनु भयो । गाउँको छोरोलाई भोट हाल्नुस् ।’
पोखरामा आइतबार चुनावी सभामार्फत गरेर शक्तिप्रदर्शनपछि समाजवादीका उम्मेदवार वडा नम्बर १६ तिर घरदैलोमा पुगेका हुन् । व्यक्तिलाई गाली गर्नुभन्दा राजनीतिलाई सफा गराउने काम जनताले नै गर्नुपर्ने धर्मराजको भनाइ थियो ।
‘व्यक्ति आफैंमा खराब हुँदैन । राजनीति आफैमा गलत होइन । तर, यहाँ राजनीति गर्ने मान्छेको प्रवृत गलत भयो,’ धर्मराजले भने, ‘तीनै गलत कुरा फेरिनुपर्छ । देशमा सुशासनको सिस्टम बस्नुपर्छ भन्ने मानयता राख्छु ।’ पछि पछुताउनुभन्दा राम्रो उम्मेदवार छानेर मात्र भोट हाल्न उनले आग्रह गरेका छन् । नेतालाई मात्र गाली गर्नुको सट्टा आफैंले गतिलो नेता छान्ने जनताको अवसर नै चुनाव भएकाले त्यसको सदुपयोग गर्न धर्मराजले मतदातालाई अनुरोध गरे ।
चुनावी सभालाई सम्बोधन गर्न आइतबार पोखरा आएका समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराई पनि धर्मराजलाई भोट माग्न घरदैलो पुगेका छन् । धर्मराज जन्मगाउँतिर घरदैलोमा पुगे भने डा. भट्टराई वडा नम्बर १५ र १७ मा घरदैलो गरेका थिए ।
डा. भट्टराईले धर्मराजजस्तो सक्षम व्यक्ति पोखराको माटोले पाएको बताउँदै समुपयोग गर्न आग्रह गरेका थिए । देशमा पुराना पार्टीले पटक पटक जितेर पनि उही पुरातन सोचबाट बाहिर ननिस्किएका कारण समाजवादी पाटीे वैकल्पिक राजनीतिमा आएको भट्टराईले बताए । पोखराबाट धर्मराजलाई जिताएर देशका निम्ति नयाँ सन्देश दिन भट्टराई आग्रह गरेका थिए ।
समाजवादी पार्टीले घरदैलो कार्यक्रमलाई अन्तिम चरणमा पु¥याएको प्रदेश संयोजक गणेशमान गुरुङले जानकारी दिए ।


No comments:

Post a Comment

Please, comment about this article.