Saturday, March 31, 2012

अखिल नेपाल महिलासंघको छैटौं राष्ट्रिय सम्मेलनको चहलपहल शुरु

          अखिल नेपाल महिला संघको आगामी बैशाख ८ देखि ११ गतेसम्म पोखरामा हुने छैटौं राष्ट्रिय सम्मेलनलाई भव्य र व्यवस्थित रुपमा सम्पन्न गर्ने क्रममा विभिन्न रचनात्मक कार्यक्रम संचालन गर्ने तयारी भैरहेको छ ।
    छैटौं राष्ट्रिय सम्मेलनको मुल व्यवस्थापन समिति, मुल सहयोग समिति अन्तर्गतका उपसमितिहरुको बैठक बसेर त्यस्ता रचनात्मक कार्यक्रम संचालन गर्न लागेको हो ।

       यसै क्रममा मुल सहयोग समितिको शनिवार बसेको सचिवालयको बैठकले सम्मेलनको क्रममा गण्डकी धौलागिरी, लुम्बिनी र नारायणी अञ्चलका क्षेत्रमा चैत १९  गतेदेखि २५ गतेसम्म व्यापक रुपमा वालपेन्टिङ, पोष्टरिङ्ग गरिसक्ने निर्णय गरेको छ । नेकपा एमालेका वैकल्पिक पोलिटव्यूरो सदस्य तथा गण्डकी इञ्चार्ज खगराज अधिकारीको अध्यक्षता तथा छैटौं राष्ट्रिय सम्मेलन मुल व्यवस्थापन समितिका संयोजक गोमा देवकोटाको उपस्थितिमा सम्पन्न मुल सहयोग समितिको बैठकले समितिको सदस्यहरुमा नेकपा एमाले पर्वतका अध्यक्ष विकास लम्साल, म्याग्दीका राष्ट्रिय प्रतिनिधि परिषद् सदस्य नवराज शर्मालाई मनोनयन गर्ने निर्णय गरेको सचिव श्रीनाथ बरालले जानकारी दिनुभयो ।

       सम्मेलनको तयारीको क्रममा नयाँ वर्ष २०६९ को अवसरमा बैशाख १ गते पोखरामा बृहत प्रभातफेरी तथा शुभकामना आदानप्रदान कार्यक्रम तय भएको अखिल महिला संघ छैटौं राष्ट्रिय सम्मेलन आयोजक समितिका सचिवालय सदस्य तथा प्रचार प्रसार विभाग प्रमुख सुजिता शाक्यले जानकारी दिनुभयो ।

       सम्मेलनको क्रममा अखिल नेपाल महिला संघ कास्कीको व्यवस्थापनमा वैशाख २ गते पोखराका बृद्धाश्रममा रहेका बृद्धबृद्धाहरुलाई फलफूल वितरण, पोखरा नगर कमिटीको आयोजनामा बैशाख ३ गते नगर सरसफाई लगायतका रचनात्मक कार्यक्रम गरिने तयारी भइरहेको छ ।

       सचिवालय सदस्य तथा प्रचार विभाग प्रमुख सुजिता शाक्यका अनुसार चैत्र २५ गते बृहत महिला भेला र बैशाख ५ गते महिलाहरुको बृहत मोटरसाइकल ¥याली निकालिने तयारी भइरहेको छ । यसैगरी सम्मेलनको सन्दर्भमा कास्कीको चारैवटा निर्वाचन क्षेत्रमा अनेमसंघको प्रचार भेला तथा घरदैलो कार्यक्रम शुरुवात भएको छ ।
       त्यस्तै मुल सहयोग समिति अन्तर्गत नेकपा एमालेका केन्द्रीय सदस्य टुका हमाल प्रमुख रहनुभएको अर्थ संकलन सहयोग समिति, केन्द्रीय सदस्य टुकराज सिग्देल प्रमुख रहेको खाना खाजा व्यवस्थापन सहयोग समिति गठन गरिएको छ । पार्टीका बैकल्पिक पोलिटव्यूरो सदस्य खगराज अधिकारी प्रमुख रहनुभएको जनपरिचालन र वैकल्पिक केन्द्रीय सदस्य चुडामणि जंगली प्रमुख रहेको यातायात व्यवस्थापन गठन भई आ–आफ्नो क्षेत्रमा क्रियाशील रहेका छन् ।

       पार्टीका केन्द्रीय सदस्य गणेश तिमिल्सिना प्रमुख रहेको प्रचार प्रसार, वैकल्पिक केन्द्रीय सदस्य जगत वि.क. प्रमुख रहेको आवास व्यवस्थापन, मोहन रेग्मी प्रमुख रहेको मञ्च व्यवस्थापन र स्वयंसेवक सीता सुन्दास प्रमुख रहेको साँस्कृतिक सहयोग समिति गठन गरिएको छ । त्यस्तै राष्ट्रिय प्रतिनिधि परिषद् सदस्य सीता गिरी प्रमुख रहेको अतिथि सत्कार र कृष्ण थापा प्रमुख रहेको स्वास्थ्य सहयोग उपसमिति गठन भएको छ ।
       “महिला मैत्री सहभागितामूलक लोकतन्त्रको संस्थागत विकास गरौं, अराजकता, विखण्डनको विरुद्ध राष्ट्रिय एकता सुदृढ पारौं” भन्ने मूल नाराका साथ सम्मेलन हुन लागेको हो ।



भण्डारी केन्द्रीय सदस्यमा मनोनित

       अनेरास्ववियूको केन्द्रीय सदस्यमा कास्कीका विद्यार्थी नेता सूर्य भण्डारी मनोनित हुनुभएको छ ।

       २०५३ सालमा स्कूल प्रारम्भिक कमिटीमा संगठित हुनुभएका भण्डारी २०६७ सालदेखि गण्डकी अञ्चल सचिव रहनुभएको थियो ।

       २०५५ सालमा स्कूल कमिटीको अध्यक्ष र क्षेत्रीय कमिटीको सदस्य बन्नुभएका भण्डारी २०५९ मा क्षेत्रीय कमिटीको अध्यक्ष र २०६२ देखि २०६६ सालसम्म अनेरास्ववियू कास्कीको अध्यक्ष भै कार्य गर्नुभएको थियो ।

No comments:

Post a Comment

Please, comment about this article.