Monday, May 14, 2018

संघीयता विरुद्धको राष्ट्रिय अभियानको अन्तरक्रिया कार्यक्रम सम्पन्न-Pokhara News Nepal

पोखरा, ३१ बैशाख । 
संघीयता विरुद्धको राष्ट्रिय अभियान केन्द्रीय समितिको आयोजनामा संघीयता, राष्ट्रियता र प्राकृतिक सम्पदा (जलस्रोत) का विषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो ।
कार्यक्रममा प्रमुख वक्ता राष्ट्रिय जनमोर्चाका केन्द्रीय अध्यक्ष चित्र बहादुर केसीले संघीयता खारेज नभएर लागू भयो भने संघीयताले नेपाल खारेज गर्ने बताउनुभयो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी धार्मिक भेषमा साम्प्रदायिक दङ्गा मच्चाउन र नेपालको जलस्रोत अरुण तेस्रो लिन आएका हुन्, संविधान जारी गर्न नदिने र जारी भैसकेपछि गर्न लागू गर्न नदिने, भुकम्पले आहाल भएका नेपाली जनताहरुलाई राहत दिनुको सट्टा नाकाबन्दी लगाउने मोदी कसरी धार्मिक हुन्छन् भन्ने टिप्पणी गर्नुभयो । 
उहाँले अरुण तेस्रो चोर बाटोबाट मोदीलाई कन्यादान दिने ओली सरकारको काम राष्ट्रघाती भएको बताउनुभयो । जनतालाई सचेत बनाएर अगाडि बढे नेपाली जनताले राष्ट्रियताको रक्षा गर्न सक्ने भएको हुँदा हामी आउका छौं, त्यसैले यस महान अभियानमा लाग्न सम्पूर्ण देशभक्त जनसमुदायसँग अपिल गर्नुभयो । 
त्यसैगरी राष्ट्रिय अभियानका केन्द्रीय सदस्य जलस्रोत विद् दिपक ज्ञवालीले आफू जनताको अधिकारका लागि विकेन्द्रीकरण होइन बहुराष्ट्रियकरण गर्ने जातीय, क्षेत्रीय विखण्डन ल्याउन सक्ने हुँदा आफू संघीयता विरुद्धको अभियानमा लागेको बताउनुभयो । आजको एक्काइसौं शताब्दीको युगमा पानी वा जलस्रोत नै कसले हात पार्ने भन्ने लडाई चलिरहेको सन्दर्भमा व्रिटिस इण्डियाकालदेखि नै नेपालको जलस्रोत माथि आफ्नो अधिपत्यता कायम राख्ने सिलसिलामा अरुण तेस्रो सम्झौता गरेको दावा गर्नुभयो । उर्जा मन्त्रालयको अधिकार नेपालको संविधानको गैरकानुनी रहेको बताउनुभयो । 
अर्का वक्ता नेपाली काँग्रेस कास्कीका सभापति कृष्ण के.सी.ले पार्टीले संघीयता स्वीकार गरे पनि व्यक्तिगत रुपमा आफूले स्वीकार गर्न नसक्ने र यो असफल हुने बताउनुभयो ।
अभियानका केन्द्रीय सदस्य कृष्ण प्रसाद भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत केन्द्रीय सदस्य भैरबराज रेग्मी र संचालन प्रदेश नं. ४ का अध्यक्ष शंकर बरालले गर्नुभएको थियो । 



No comments:

Post a Comment

Please, comment about this article.