Saturday, May 26, 2012

खानेपानी योजनाको शिलान्यास

       स्याङ्गजा जिल्लाको कालिकाकोट गा.वि.स. वडा नं.२ हुण्डीको स्यामपोखरा स्थित भविष्य उज्वल प्रा.वि. र गाउँलेहरुको सुविधाका लागि खानेपानी योजनाको एक समारोहका बीच सिष्टर सेराफिनाले शिलान्यास गर्नुभयो ।
       गाउँबस्ती र विद्यालयदेखि करीब ५०, ६० मिटरको गहिराईमा रहेको दसीखोलाको मुहानबाट विद्युतीय उपकरण (पम्प) को प्रयोग गरी पानी ल्याउनुपर्ने सो योजनाको लागत करीब ३ लाख ७५ हजार छ भने सोका लागि St. Paul Mobile Clinic पोखराका कोरियन स्वयंसेवकहरुले करीब २ लाख आर्थिक सहयोग गर्ने र बाँकी नपुग रकम गाउँलेहरुले जनश्रमदान र आर्थिक संकलन गर्ने सहमति भएको छ ।
       यो योजनाको आर्थिक सहयोग जुटाउने कार्यमा कोरियाबाट आउनुभएका इन्जिनियरिङ्ग कलेज लामाचौरका स्वयंसेवक ई.पार्क इन्ग्यू(Er. Park Engue) ले समन्वय गर्नुभएको थियो भने पार्क इन्ग्यूसँग समन्वय गर्ने कार्यमा हेरालो प्रतिष्ठानका अध्यक्ष एवं रोटरियन रोशबहादुर गुरुङ्गले गर्नुभएको थियो । विद्यालय व्यवस्थापन समिति र गाउँलेहरुसँगको सम्बन्ध राख्ने काम हेरालोका पूर्व अध्यक्ष एवं सल्लाहकार निरज थापा र प्राविधिक व्यवस्थापन गर्ने कार्यमा सदस्य सचिव गणेश बराइलीले गर्नुभएको थियो ।
       विद्यालय व्यवस्थापन समितिका अध्यक्ष केशबहादुर कुँवरको अध्यक्षतामा आयोजित शिलान्यास कार्यक्रममा प्रमुख व्यक्तित्व सेराफिनाले स्कूले बालबालिका र गाउँलेहरुलाई खानेपानीको सानो सहयोग गर्न पाएकोमा खुसी व्यक्त गर्नुहुँदै योजनाको पुर्ण सफलताका लागि परमेश्वरसँग प्रार्थना गर्नुभएको थियो ।
       कार्यक्रमको जानकारी गराउँदै सबै गाउँलेले सहयोग गरेर योजनालाई सफल पार्नुपर्ने कुरा मध्यस्थकर्ता निरज थापाले बताउनुभयो । दाताहरु र सहयोगी सबैलाई अध्यक्ष केशबहादुर कुँवरले धन्यवाद सहित कार्यक्रमको विसर्जन गर्नुभएको थियो ।
       विद्यालयको तर्फबाट फूलमाला, अविरले पाहुँनाहरुको स्वागत गरिएको सो कार्यक्रममा केशर बहादुर कुँवर, भविश्वर कुँवर, खगेन्द्र कुँवरको पनि महत्वपूर्ण भूमिका रहेको थियो ।
       सो योजना निर्माण गर्नका लागि खगेन्द्र कुँवरको अध्यक्षतामा ११ सदस्यीय निर्माण समिति गठन गरी कार्य शुरु गरिएको छ ।

No comments:

Post a Comment

Please, comment about this article.